२० पुस काठमाडौं । फागुन २१ गते हुने आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन नेपाल सरकारले करिब ८० हजार नेपाली सेनाको परिचालन गर्ने भएको छ।निर्वाचन सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले देशभर आवश्यक स्थानमा नेपाली सेना खटाइने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मतदान केन्द्र, मतपेटिका ढुवानी, संवेदनशील क्षेत्र तथा आवश्यक सुरक्षात्मक जिम्मेवारीमा सेना परिचालन गरिनेछ।
यसअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक परिचालन गरिसकिएको छ भने नेपाली सेना तेस्रो घेराको सुरक्षाका रूपमा खटाइने तयारी गरिएको हो। सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष योजना बनाइएको जनाइएको छ।
निर्वाचन आयोगले पनि सुरक्षाको पर्याप्त व्यवस्था भएको भन्दै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेको छ। आयोगका अनुसार निर्वाचनलाई विश्वसनीय र व्यवस्थित बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको छ।सरकारले निर्वाचन अवधिभर शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउने लक्ष्य राखेको छ।