२१ पुस गोरखा । गोरखा बजारस्थित जिविस चोकमा रहेको न्यू टेलर्स लोगोले माघ १ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
‘अनुशासन, सम्मान र पहिचानमा औपचारिक पोशाकको भूमिका’ विषयमा आयोजना हुन लागेको उक्त प्रतियोगिताले औपचारिक पोशाकको सामाजिक र व्यावहारिक महत्वबारे युवाहरूलाई सचेत गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
न्यू टेलर्स लोगोका सञ्चालक बालकृष्ण परियारका अनुसार प्रतियोगितामार्फत विद्यार्थी तथा युवाहरूको विचार अभिव्यक्तिको क्षमता विकास गर्नुका साथै पोशाकले व्यक्तित्व निर्माणमा पार्ने प्रभावबारे बहस गरिनेछ।
प्रतियोगितामा सहभागीहरूलाई विषयसँग सम्बन्धित आफ्ना विचार स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। प्रतियोगितासम्बन्धी विस्तृत जानकारी र सहभागिताका लागि चाँडै सूचना सार्वजनिक गरिने आयोजकले जनाएको छ।