१ माघ काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन लागेको तेस्रो संस्करणको राष्ट्रिय लिग–२०८२का लागि गोरखाका उदयमान तथा मिहिनेती खेलाडी दीपेश गुरुङ राष्ट्रिय स्तरको ए–डिभिजन क्लब मनाङ मर्स्याङ्दी फुटबल क्लबमा आबद्ध भएका छन्।
बारपाक सुलिकोट गाउँपालिका वडा न –८,तल्लो जराङस्थित जनप्रेमी युवा क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरेका गुरुङले बी–डिभिजन क्लब बासबारी क्लब हुँदै नेपाली फुटबलको शीर्ष श्रेणी मानिने ए–डिभिजनसम्मको यात्रा तय गरेका हुन्।
निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनका कारण उनले ए–डिभिजन क्लब मनाङ मर्स्याङ्दीमा स्थान सुरक्षित गर्न सफल भएका छन्। गुरुङको यो उपलब्धिलाई गोरखा जिल्लाका खेलप्रेमी तथा स्थानीयवासीले गौरवका रूपमा लिएका छन्।
उदयमान खेलाडीका रूपमा चिनिएका गुरुङ राष्ट्रिय लिग–२०८२ मा मनाङ मर्स्याङ्दी फुटबल क्लबबाट सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
गोरखाको ग्रामीण क्षेत्रबाट राष्ट्रिय स्तरसम्मको यो यात्रा प्रेरणादायी रहेको भन्दै स्थानीय खेलकर्मी तथा शुभेच्छुकहरूले दीपेश गुरुङलाई आगामी दिनमा अझ उत्कृष्ट खेल प्रस्तुत गर्दै नेपाली फुटबलमा आफ्नो पहिचान बनाउने विश्वास व्यक्त गरेका छन्।