३ माघ काठमाडौँ । गोरखाकी सामाजिक अभियानी सोनी भट्टराई आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएकी छन्।
गोरखाको नारेश्वर स्थायी घर भएकी भट्टराई आगामी निर्वाचनमा आफ्नै गृह जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ।
बालबालिकाको हकहित, संरक्षण तथा सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी भट्टराईले सामाजिक सेवामार्फत उल्लेखनीय योगदान दिँदै आएकी छन्। उनले काठमाडौँ महानगरपालिका बालअधिकार समितिको विज्ञ सदस्यका रूपमा समेत काम गरिसकेकी छन्।
सामाजिक अभियान र नीति निर्माण प्रक्रियामा अनुभव सँगालेकी भट्टराईले बालअधिकार, महिला सशक्तीकरण र सामाजिक न्यायका मुद्दालाई संसद्मा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित निर्वाचनमा होमिन लागेको बताइएको छ।उनको उम्मेदवारीले गोरखा–१ को राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने विश्लेषकहरूले बताएका छन्।