४ माघ काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)को उपस्थिति बिना नै उनको भूमिकाको प्रशंसा गर्दै औपचारिक रूपमा धन्यवाद प्रस्ताव पारित गरिएको छ। बैठक कक्षमा मेयरका लागि छुट्याइएको कुर्सी खाली राखेर कार्यपालिकाले बालेनप्रति सम्मान र ऐक्यबद्धता प्रकट गरेको हो।
कार्यपालिका सदस्यहरूले महानगरको सरसफाइ, अव्यवस्थित संरचना हटाउने अभियान, सुशासन र सार्वजनिक सेवामा सुधारका लागि बालेनले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए। उनीहरूका अनुसार निरन्तर दबाब, अवरोध र विवादका बाबजुद महानगर सुधारका प्रयासलाई अगाडि बढाउनु उल्लेखनीय योगदान हो।
बैठकमा बोल्ने सदस्यहरूले महानगरभित्र पछिल्लो समय देखिएको राजनीतिक तानातानका बीच पनि बालेनले लिएको अडानले स्थानीय सरकारलाई जनमुखी बनाउने सन्देश दिएको बताए। खाली कुर्सीले जनप्रतिनिधि र प्रशासनबीचको दूरी मात्र नभई, नेतृत्वप्रतिको समर्थन र प्रतीकात्मक विरोध दुवैलाई एकसाथ व्यक्त गरेको टिप्पणी समेत गरिएको छ।
महानगर स्रोतका अनुसार धन्यवाद प्रस्तावमार्फत कार्यपालिकाले मेयर बालेनलाई काममा निरन्तरता दिन आग्रहसमेत गरेको छ। यो घटनाले महानगरभित्रको आन्तरिक अवस्था र नेतृत्वप्रतिको समर्थनलाई प्रतीकात्मक रूपमा देखाएको भन्दै राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।