९ माघ झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापामा हुने चुनावमा एमालेले सहज जित हासिल गर्ने दाबी गर्नुभएको छ। उहाँले झापामा कुल पाँचवटा मात्रै निर्वाचन क्षेत्र रहेको र ती सबै क्षेत्रमा एमाले विजयी हुने बताउनुभयो।
झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, “झापामा चाहिँ हामी पाँचवटा क्षेत्रमा मात्रै जित्छौं। छ वटा क्षेत्रमा जित्दैनौँ, किनभने यहाँ पाँचवटा मात्रै क्षेत्र छन्।” उहाँले झापामा एमालेको प्रतिस्पर्धी खासै नरहेको दाबी गर्दै प्रतिस्पर्धा भन्ने कुरा औपचारिक मात्रै भएको टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले लोकतान्त्रिक प्रक्रियाअनुसार सबै दलले चुनाव लड्न पाउने अधिकार रहेको उल्लेख गर्दै भने, “चुनाव त सबैले लड्न पाउँछन्, लड्छन्। तर यहाँ प्रतिस्पर्धा भन्ने त्यस्तो कसैसँग हुँदैन।” उहाँले हाँस्य शैलीमा ‘हा‘हु बेग्लै कुरा हो’ भन्दै विपक्षी दलप्रति कटाक्षसमेत गर्नुभयो।
उहाँले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँदलिरहित बनाउने एमालेको उद्देश्य रहेको स्पष्ट पार्नुभयो। “धाँदलिरहित चुनाव गराउने हाम्रो उद्देश्य छ,” ओलीले भन्नुभयो, “जनताको मतबाट नै विजयी हुनेमा हामी ढुक्क छौँ।”
अध्यक्ष ओलीको यो अभिव्यक्तिलाई आगामी निर्वाचनको सन्दर्भमा एमालेको आत्मविश्वासका रूपमा हेरिएको छ। यद्यपि, अन्य दलहरूले भने चुनावी प्रतिस्पर्धालाई हल्का रूपमा लिन नहुने बताउँदै आफ्नो तयारी तीव्र बनाइरहेको बताएका छन्।