९ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक विवाद चर्किँदै गएको छ। सोही क्रममा पार्टीका महामन्त्री बुर्लाकोटीमाथि टिकट वितरणलाई व्यक्तिगत लाभ र कमाउने माध्यम बनाएको गम्भीर आरोप लगाइएको छ।
रास्वपाका नेता पाण्डेले एक सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री बुर्लाकोटीको कडा आलोचना गरेका हुन्। उनले पार्टीभित्रको टिकट वितरण प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै, योग्य र इमानदार कार्यकर्तालाई पन्छाएर पहुँच र आर्थिक लेनदेनका आधारमा टिकट बाँडिएको दाबी गरे।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाका उम्मेदवार रहेका बुर्लाकोटीलाई भोट दिनुको सट्टा गाउँगाउँबाट लखेट्न उनले आग्रह गरे । ‘रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविश्य नरहेको पाण्डेले बताए । बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिलाई कमाउँ धन्दा बनाएको उनको आरोप छ ।
“जनताले परिवर्तनका लागि भोट दिन खोजेका बेला पार्टी नेतृत्वले टिकटलाई व्यापार बनाएको छ,” पाण्डेले भने, “यस्ता प्रवृत्तिलाई मत दिएर होइन, गाउँ–गाउँबाट लखेटेर जवाफ दिनुपर्छ।”
उनले रास्वपा भ्रष्टाचारविरुद्धको एजेन्डासहित उदाएको पार्टी भए पनि नेतृत्व तहकै व्यवहारले पार्टीको मूल मर्ममाथि चोट पुगेको बताए। पाण्डेले कार्यकर्ता र आम समर्थकलाई सचेत रहन आग्रह गर्दै, गलत नेतृत्वको खुलेर विरोध गर्नुपर्ने धारणा राखे।
यस विषयमा महामन्त्री बुर्लाकोटी पक्षबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। तर पार्टीभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि बढ्दै गएको र यसले आगामी चुनावमा रास्वपाको छविमा असर पार्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
राजनीतिक सुधार र नयाँ संस्कृतिको नारासहित अघि बढेको रास्वपा भित्रै देखिएको यो विवादले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। अब पार्टी नेतृत्वले यस आरोपप्रति कस्तो स्पष्टिकरण दिन्छ र आन्तरिक असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्छ भन्ने चासोको विषय बनेको छ।