९ माघ काठमाडौँ । नेकपा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्व र पहलका कारण देशका ९९ प्रतिशत जनताको घरमा विद्युत् पहुँच पुगेको दाबी गरेका छन्।
‘प्रचण्ड’ले मुलुकको शासन प्रक्रियामा बाह्य शक्तिहरूको सक्रियता देखिएको दाबी गर्दै त्यसप्रति रुकुमपूर्वबाट राजनीतिक जवाफ दिने बताएका छन्। उनले चुनावी अभियानलाई कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपालमा विद्युत् विस्तारमा पछिल्ला वर्षहरूमा ऐतिहासिक प्रगति भएको उल्लेख गरे। “हामी सरकारमा हुँदा लिएको नीति, निर्णय र पहलकै कारण आज देशका करिब सबै घरधुरीमा बिजुली पुगेको छ,” उनले भने।
प्रचण्डले विगतमा लामो समयसम्म अन्धकारमा बस्न बाध्य ग्रामीण भेगमा विद्युत् पुर्याउनु सरकारका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै, राजनीतिक इच्छाशक्ति र निरन्तर लगानीका कारण सम्भव भएको बताए। “लोडसेडिङको अन्त्य मात्र होइन, गाउँ–गाउँमा उज्यालो पुर्याउनु हाम्रो प्राथमिकता थियो,” उनले जोड दिए।
उनले ऊर्जा क्षेत्रमा भएको सुधारले शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारीमा सकारात्मक प्रभाव पारेको दाबी गर्दै अब विद्युत् उत्पादन वृद्धि र निर्याततर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। “अब हामी आत्मनिर्भर मात्र होइन, ऊर्जा निर्यात गर्ने देश बन्ने दिशामा अघि बढिरहेका छौँ,” प्रचण्डको भनाइ थियो।
कार्यक्रममा बोल्दै उनले आलोचकहरूलाई जवाफ दिँदै भने, “कुरा मात्र होइन, तथ्य हेर्नुस्। आज ९९ प्रतिशत नागरिक विद्युत्को पहुँचमा छन्, यो उपलब्धि आफैँमा ठूलो परिवर्तन हो।”
प्रचण्डको यो अभिव्यक्तिलाई ऊर्जा क्षेत्रमा माओवादी केन्द्रको उपलब्धिको दाबीका रूपमा हेरिएको छ। यद्यपि, केही राजनीतिक दल र विश्लेषकहरूले विद्युत् पुगे पनि सेवा गुणस्तर र दिगोपनामा अझ सुधार आवश्यक रहेको टिप्पणी गरेका छन्।