१३ माघ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टी एक्लै चुनावी मैदानमा उत्रिने स्पष्ट घोषणा गर्नुभएको छ । कुनै पनि राजनीतिक दलसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै उहाँले राप्रपाको वास्तविक तालमेल जनतासँग मात्रै हुने दाबी गर्नुभयो ।
एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “राप्रपा अब अरू दलको सहारामा होइन, आफ्नै एजेन्डा, नीति र विचार बोकेर जनतामाझ जान्छ । हाम्रो तालमेल कुनै पार्टीसँग होइन, देश र जनतासँग हो।” उहाँले विगतका गठबन्धन संस्कृतिले मुलुकमा राजनीतिक अस्थिरता बढाएको र जनताको भरोसा कमजोर बनाएको टिप्पणी गर्नुभयो ।
राजेन्द्र लिङ्देनले अहिलेको राजनीति अवसरवाद र सत्ताकेन्द्रित सोचबाट ग्रस्त भएको आरोप लगाउँदै राप्रपाले राष्ट्रियता, सुशासन, धर्म–संस्कृति संरक्षण र समृद्धिलाई केन्द्रमा राखेर राजनीति गरिरहेको बताउनुभयो । “जनताले विकल्प खोजिरहेका छन्, राप्रपा त्यो विकल्प हो,” उहाँको भनाइ थियो ।उहाँले पार्टी संगठनलाई देशभर मजबुत बनाउँदै जनताको घरदैलोमा पुग्ने अभियान तीव्र पारिएको जानकारी पनि दिनुभयो । विशेषगरी युवा, किसान, मजदुर र मध्यम वर्गलाई राप्रपाले आफ्नो प्रमुख आधार बनाउने अध्यक्ष लिङ्देनको दाबी छ ।
अध्यक्ष लिङ्देनले थप्नुभयो, “हामी सिट गणनाको हिसाबले होइन, देशको भविष्यको हिसाबले चुनाव लड्दैछौं । जनताले दिएको मत नै हाम्रो शक्ति हो।”राप्रपाले एक्लै चुनाव लड्ने घोषणासँगै नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । आगामी निर्वाचनमा राप्रपाको यो रणनीतिले कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।