१३ माघ काठमाडौं । सञ्चारकर्मी तथा सार्वजनिक व्यक्तित्व ऋषि धमलाले आफूलाई पद र सत्ताभन्दा देश निर्माण नै मुख्य लक्ष्य भएको बताएका छन्। हालै आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना नरहेको स्पष्ट पारेका हुन्।धमलाले भने, “म मन्त्री बन्दिन । म देश बनाउने हो । मलाई मन्त्री, प्रधानमन्त्री बन्नुपर्या छैन । देश बनाउने हो इमान्दारिताका साथ । देशमा विकास गर्ने हो । जनताले जे भन्छन् त्यहीँ गर्ने।”
उनले नेपाली राजनीतिमा पदमुखी सोच हाबी हुँदै गएको भन्दै त्यसले देशको वास्तविक विकास रोकिएको धारणा व्यक्त गरे। आफू सत्तामा जानभन्दा पनि जनताको आवाज बनेर काम गर्न चाहने उनले बताए।धमलाका अनुसार देश विकासका लागि सबैभन्दा आवश्यक कुरा इमान्दार नेतृत्व हो। “कुर्सीमा बसेर मात्र देश बन्छ भन्ने सोच गलत हो,” उनले भने, “जनताको चाहना, आवश्यकता र सुझावलाई आत्मसात गरेर काम गर्न सके देश आफैं अघि बढ्छ।”उनले विकासका नाममा हुने भ्रष्टाचार, ढिलासुस्ती र जवाफदेहिताको अभावप्रति पनि कटाक्ष गरे। जनताले चाहेको विकास सडक, शिक्षा, स्वास्थ्य र रोजगारी भएको भन्दै त्यसमा इमान्दारितापूर्वक काम गर्नुपर्ने उनले जोड दिए।
कार्यक्रममा सहभागी केही व्यक्तिहरूले धमलाको अभिव्यक्तिलाई ‘सिधा र स्पष्ट’ भनेका छन् भने कतिपयले यसलाई भावनात्मक वक्तव्यका रूपमा टिप्पणी गरेका छन्। यद्यपि, उनको भनाइले पदभन्दा काम ठूलो हुने बहसलाई फेरि सतहमा ल्याएको छ।ऋषि धमलाको यो अभिव्यक्तिले पछिल्लो समय राजनीतिप्रति बढ्दै गएको निराशाबीच जनमुखी र उत्तरदायी नेतृत्वको आवश्यकता झन् स्पष्ट पारेको विश्लेषकहरू बताउँछन्।