१३ माघ काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कञ्चनपुर क्षेत्र नम्बर–२ पुगेका छन्। उनी रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका दीपक बोहोराको चुनावी अभियानलाई सघाउन कञ्चनपुर पुगेका हुन्।बालेन शाहले कञ्चनपुर–२ का विभिन्न स्थानमा पुगेर स्थानीय नागरिक, युवाहरू र पार्टी कार्यकर्तासँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा उनले रास्वपाको राजनीतिक उद्देश्य, सुशासन, पारदर्शिता र जनमुखी विकासका एजेन्डाबारे स्पष्ट पारेका थिए।
कार्यक्रममा बोल्दै बालेन शाहले परम्परागत राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै अब नयाँ सोच, इमान्दार नेतृत्व र काम गरेर देखाउने राजनीतिको आवश्यकता रहेको बताए। “हामी भाषणभन्दा काममा विश्वास गर्छौं,” उनले भने, “देश बनाउने जिम्मेवारी अब इमान्दार र जवाफदेही प्रतिनिधिको हातमा जानुपर्छ।”
रास्वपा कञ्चनपुर–२ का उम्मेदवार दीपक बोहोराले बालेन शाहको उपस्थितिले आफ्नो अभियानमा थप ऊर्जा र विश्वास बढेको बताएका छन्। उनले स्थानीय समस्यालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय मतदातामध्ये धेरैले बालेन शाहलाई काम गरेर देखाउने नेताको रूपमा लिने गरेको प्रतिक्रिया दिएका छन्। उनको उपस्थितिले चुनावी माहोल थप तातेको र रास्वपाप्रति चासो बढेको देखिएको छ।कञ्चनपुर–२ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ। विभिन्न दलका प्रभावशाली उम्मेदवारबीच कडा टक्कर हुने अनुमान गरिँदै गर्दा बालेन शाहको क्षेत्रीय सक्रियताले रास्वपाको चुनावी अभियानलाई थप बल मिलेको विश्लेषण गरिएको छ।