१५ माघ काठमाडौं । काठमाडौंको मुलपानी क्रिकेट मैदान आसपासको क्षेत्रबाट प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ। रातिको समयमा सर्वसाधारणलाई पछ्याउँदै गहना, नगद तथा अन्य बहुमूल्य सामग्री लुटपाट गर्दै आएको गिरोहलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको हो।प्रहरीका अनुसार पछिल्लो समय मुलपानीसहित आसपासका क्षेत्रमा लुटपाटका घटना बढेपछि विशेष टोली परिचालन गरिएको थियो। सोही क्रममा गएराति शंकास्पद गतिविधिमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरिएको हो। “पक्राउका क्रममा परिस्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो,” उनले बताए। घटनामा प्रहरीतर्फ कुनै मानवीय क्षति नभएको पनि उनले स्पष्ट पारे।पक्राउ परेका व्यक्तिहरूबाट लुटपाटमा प्रयोग गरिएका विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू समूह बनाएर रातिको समयमा हिँडडुल गर्ने व्यक्तिहरूलाई लक्षित गरी लुटपाट गर्दै आएका थिए।
प्रहरीले लुटेराबाट पीडित भएका व्यक्तिहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।