१९ माघ काठमाडौँ । गोरखा–१ मा वाइसिएल इन्चार्ज कांग्रेस प्रवेश गरेको भनी प्रकाशित समाचारप्रति वाइसिएल नेपालले कडा आपत्ति जनाउँदै औपचारिक रूपमा खण्डन गरेको छ।“हिमालय टिभि” नामक अनलाइन न्युज माध्यमले आज प्रकाशित गरेको “गोरखा–१ का वाईसिएल इन्चार्ज कृष्ण लामिछाने काङ्ग्रेस प्रवेश” शीर्षकको समाचार पूर्ण रूपमा भ्रामक, अप्रमाणित र तथ्यहीन रहेको वाइसिएल नेपालको दाबी छ।
वाईसिएल नेपाल गोरखा जिल्ला इन्चार्ज सागर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा “कृष्ण लामिछाने” नाम गरेका व्यक्ति वाइसिएल नेपालमा हालसम्म कुनै पनि जिम्मेवारीमा नरहेको, कहिल्यै गोरखा–१ को इन्चार्ज नतोकिएको र संगठनसँग कुनै पनि प्रकारको आधिकारिक सम्बन्ध नरहेको स्पष्ट रूपमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा संगठनको आधिकारिक सूची, निर्णय र संरचना नहेरी समाचार प्रकाशन गरिएकोप्रति गम्भीर प्रश्न उठाउँदै भनिएको छ— प्रमाणबिनै व्यक्तिलाई संगठनको पदमा राखेर समाचार बनाउनु जिम्मेवार पत्रकारिता नभई सनसनी फैलाउने प्रवृत्ति भएको आरोप लगाइएको छ।
वाइसिएल नेपालले अफवाह र झुठको भरमा राजनीतिक फाइदा लिन खोज्ने, संगठनको छवि धूमिल गराउने र आम जनतालाई भ्रममा पार्ने प्रयासलाई कडा रूपमा अस्वीकार गरेको छ। साथै यस्ता गतिविधिले पत्रकारिताको न्यूनतम मर्यादा समेत उल्लंघन गरेको जनाएको छ।
संगठनले सम्बन्धित मिडिया र व्यक्तिहरूलाई भ्रामक, अप्रमाणित तथा नियोजित समाचार तुरुन्त सच्याउन चेतावनी दिएको छ।