२६ माघ गोरखा । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार लेखनाथ न्यौपानेले राजनीति सेवा र जिम्मेवारीको माध्यम भएको बताएका छन्। प्रस्ट प्रश्न कार्यक्रममा बोल्दै उनले राजनीति गर्नका लागि पद अनिवार्य नहुने धारणा व्यक्त गरे। “राजनीति गर्न पद चाहिँदैन, जहाँ बसे पनि पार्टी र जनताको सेवा गर्ने हो,” उनले भने।
न्यौपानेले आफ्नो लामो राजनीतिक यात्रामा सामाजिक सेवा र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिएको उल्लेख गर्दै जनताको विश्वास नै सबैभन्दा ठूलो पूँजी भएको बताए। निर्वाचनलाई जनतासँग थप नजिकिने अवसरका रूपमा लिएको उनको भनाइ थियो।
उनले गोरखा क्षेत्र नं. २ को विकास, जनजीविकाका समस्या समाधान तथा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै निर्वाचन प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्नेमा जोड दिए।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाता भेटघाट तथा प्रचारप्रसारमा सक्रिय बनेका छन्। यसैक्रममा न्यौपानेले पनि विभिन्न कार्यक्रममार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।