२ फागुन गोरखा । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा गोरखाका ११ पालिकामध्ये हिमालपारिको दुर्गम क्षेत्र चुमनुब्री गाउँपालिकाले ६४.९२ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।
आयोगले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्तीय अनुशासन, योजना कार्यान्वयन, सेवा प्रवाह, पारदर्शिता, राजस्व व्यवस्थापन, पूर्वाधार विकास, वातावरण संरक्षणलगायतका सूचकहरूलाई आधार बनाएर पालिकाहरूको कार्यसम्पादन आँकलन गरिएको थियो। सोही मूल्याङ्कनमा चुमनुब्री गाउँपालिकाले उल्लेखनीय अंक प्राप्त गर्दै जिल्लाभित्र उत्कृष्टमध्येमा आफ्नो स्थान सुरक्षित गरेको हो।
दुर्गम भौगोलिक अवस्था, यातायात तथा सञ्चार पहुँचको सीमितता र स्रोतसाधनको अभावका बाबजुद गाउँपालिकाले सेवा प्रवाह सुधार, विकास आयोजना कार्यान्वयन तथा प्रशासनिक व्यवस्थापनमा देखाएको सक्रियताले सकारात्मक परिणाम ल्याएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। उनीहरूका अनुसार स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि, पारदर्शी आर्थिक व्यवस्थापन र जनउत्तरदायी कार्यक्रम सञ्चालनले यस्तो उपलब्धि हासिल गर्न सम्भव भएको हो।
गाउँपालिकाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, सडक तथा आधारभूत पूर्वाधार विकासमा थप ध्यान केन्द्रित गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्य राखेको जनाएको छ। कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त उपलब्धिलाई अझ सुधार गर्दै उत्कृष्टता कायम राख्न आवश्यक पहल जारी राखिने गाउँपालिकाको भनाइ छ।
आयोगको यस्तो मूल्याङ्कनले स्थानीय तहहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।