६ फागुन काठमाडैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपालका जुनसुकै ठाउँबाट चुनाव लडे पनि जित्ने दाबी गरेका छन्। बुधबार रुकुम पूर्व मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले देशका जुनसुकै क्षेत्रबाट प्रतिस्पर्धा गरे पनि आफूलाई हराउन सक्ने नेता नदेखिएको बताएका हुन्।
‘एक थान सांसद म जहाँबाट पनि जित्छु,’ उनले भने, ‘म मात्रै एउटा नेता हो नेपालमा जो जहाँ गएर पनि चुनाव जित्छ। अरु कसैको ताकत देखिएको छैन।’प्रचण्ड यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा–२ बाट चुनाव लडेर विजयी भएका थिए। तर यसपटक त्यहाँबाट जित्ने सम्भावना कमजोर देखिएको टिप्पणी भइरहेका बेला उनले क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्व रोजेको भन्दै राजनीतिक वृत्तमा चर्चा भएको छ।
उनको चुनावी इतिहास हेर्दा पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनले रोल्पा र काठमाडौं–१० बाट चुनाव लडेर दुबै ठाउँमा जित हासिल गरेका थिए। तर २०७० को संविधानसभा निर्वाचनमा रोल्पा छाडेर काठमाडौं–१० र सिरहा–५ बाट चुनाव लड्दा काठमाडौं–१० मा पराजित भए पनि सिरहाबाट विजयी भएका थिए।
आगामी निर्वाचनलाई लक्षित गर्दै उनले व्यक्त गरेको पछिल्लो अभिव्यक्तिले राजनीतिक बहसलाई थप तातेको छ। समर्थकहरूले यसलाई उनको जनाधार र आत्मविश्वासको संकेत मानेका छन् भने आलोचकहरूले सुरक्षित क्षेत्र खोज्दै उम्मेदवारी दिएको भन्दै टिप्पणी गरेका छन्।