११ फागुन काठमाडौँ । धादिङ जिल्लामा सोमबार मध्यराति भएको भीषण बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको हो। दुर्घटना बिहान करिब १:३० बजे भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेर १७ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये ११ जना पुरुष र ६ जना महिला रहेका छन् भने केही विदेशी नागरिक पनि परेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा घाइते भएका २४ जनालाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ। दुर्घटनाको समयमा बसमा करिब ४५ देखि ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा गोताखोरको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। अँध्यारो र नदीको गहिराइका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।हाल मृतक तथा घाइतेको सनाखत गर्ने कार्य जारी रहेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।