१३ फागुन गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार कबिन्द्र बुर्लाकोटी ले यस पटक आफूलाई मतदान गरेर विजयी गराउन आग्रह गर्दै जनताले अर्को पटक भोट दिन आग्रह गर्नुपर्ने अवस्था नआउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी अभियानको क्रममा गोरखा–२ का विभिन्न गाउँ तथा बस्तीमा आयोजित घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै बुर्लाकोटीले विगतका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको बताए। उनले भने, “यो पटक जनताले अवसर दिनुभयो भने हामी परिणाम देखिने गरी काम गर्छौँ। अर्को चुनावमा भोट माग्न आउनुपर्ने होइन, जनताले गरेको काम देखेर आफैँ निर्णय गर्ने वातावरण बनाउनेछौँ।”
उनले गोरखा–२ को विकासका लागि स्पष्ट योजना बनाइसकेको उल्लेख गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र साना तथा मझौला उद्योग स्थापना प्राथमिकतामा रहेको बताए। बुर्लाकोटीले विशेषगरी युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन उद्योग, व्यवसाय र स्वरोजगारका अवसर सिर्जना गरिने बताए।“हामीले गोरखालाई उत्पादन र रोजगारीको केन्द्र बनाउने लक्ष्य लिएका छौँ। यहाँका युवालाई आफ्नै ठाउँमा अवसर सिर्जना गर्ने गरी योजना अघि बढाउनेछौँ,” उनले भने।
बुर्लाकोटीले रास्वपा नयाँ सोच, नयाँ नेतृत्व र पारदर्शी शासनको एजेण्डासहित जनताको बीचमा आएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्य, सुशासन कायम र विकासलाई तीव्रता दिने पार्टीको मुख्य उद्देश्य रहेको बताए।स्थानीय मतदाताले पनि यस पटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। जनताले विकास, सुशासन र जिम्मेवार नेतृत्व खोजिरहेको भन्दै बुर्लाकोटीले आफू जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए।गोरखा–२ मा विभिन्न राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि बुर्लाकोटीले जनताको समर्थन र विश्वासका आधारमा आफू विजयी हुने दाबी गरेका छन्।