१४ फागुन काठमाडौं । आसन्न निर्वाचनको सुरक्षाका लागि देशभर खटिएका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालमा संगठनको पोशाक लगाएर खिचिएका फोटो तथा भिडियो पोष्ट नगर्न कडा निर्देशन दिइएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रयोजनका लागि विभिन्न स्थानमा खटिएका केही प्रहरीले आचारसंहिता उल्लङ्घन गरेको पाइएपछि पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी आचारसंहिताले संगठनको पोशाक लगाएर खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण गर्न स्पष्ट रूपमा निषेध गरेको छ । तर, निर्वाचन ड्युटीमा खटिएका केही प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता सामग्री सार्वजनिक गरेको भेटिएपछि सबै प्रहरी कर्मचारीलाई आचारसंहिता स्मरण गराउँदै पुनः सचेत गराइएको हो ।
प्रधान कार्यालयले जारी गरेको निर्देशनमा सामाजिक सञ्जालमा पोशाकसहितका सामग्री पोष्ट गर्ने कार्यले संगठनको मर्यादा, तटस्थता र व्यावसायिकतालाई असर पार्न सक्ने उल्लेख गरिएको छ । साथै, निर्वाचन जस्तो संवेदनशील समयमा यस्ता गतिविधिले सुरक्षासम्बन्धी गोपनीयता र विश्वसनीयतामा समेत प्रश्न उठाउन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिको निरन्तर अनुगमन भइरहेको जनाएको छ । यदि कुनै प्रहरी कर्मचारीले आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री प्रकाशन गरेको पाइएमा प्रहरी नियमावलीबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
निर्देशनमा भनिएको छ, “आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री प्रकाशन गर्ने कर्मचारीहरुलाई प्रहरी नियमावलीबमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन देशभर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले सबै कर्मचारीलाई अनुशासन, तटस्थता र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको जनाएको छ ।