२८ फागुन काठमाडौँ ।रवि लामिछानेले नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन जिते लगत्तै बत्तीको स्विच थिचेजस्तो तुरुन्तै परिवर्तन सम्भव नहुने बताएको छ।चितवन–२ मा निर्वाचन जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशमा सुशासन स्थापना गर्न समय लाग्ने भए पनि सरकार बनेको पहिलो घण्टाबाटै काम सुरु गर्ने बताए। उनले सुशासनको मागसहित भएको जनरल जेन्जी मुभमेन्ट नेपाल को मर्मअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले देशमा विधिको शासन स्थापित गर्नु आफ्नो पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले कडाइका साथ काम गर्ने बताए। “हामी सरकारमा पुगेपछि पनि बत्तीको स्विच थिचेजस्तो परिवर्तन सम्भव हुँदैन, तर पहिलो घण्टादेखि नै काम सुरु गर्छौं,” उनले भने।
उनले आफ्नो पार्टीको सरकार बनेपछि प्रहरी र प्रशासनलाई राजनीतिक रूपमा चलाउने काम नगर्ने स्पष्ट पारे। “हामी कसैसँग बदला लिँदैनौं, तर सबैको हिसाब भने राख्छौं,” उनले भने।
रास्वपाको कसैसँग व्यक्तिगत शत्रुता नभएको उल्लेख गर्दै लामिछानेले देश विकासका लागि आधारभूत क्षेत्र सुधार्नु आवश्यक रहेको बताए। उनका अनुसार सडक, सिँचाइ र स्वास्थ्य क्षेत्र सुधार्नु सरकारको मुख्य जिम्मेवारी हुनेछ।
लामिछानेले अब बन्ने सरकारको प्रमुख प्राथमिकता सुशासन कायम गर्नु र विधिको शासन स्थापित गर्नु नै हुने बताए। साथै जनताको अपेक्षा अनुसार पारदर्शी र जिम्मेवार शासन प्रणाली निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको उनले बताए।