१७ चैत गोरखा । गोरखा मा पनि अटो रिक्सा र म्याजिक गाडी सञ्चालन गर्ने भएका छन् । गोरखा बजार क्षेत्रमा सार्वजनिक यातायात सेवा सहज बनाउने उद्देश्यले अटो रिक्सा र म्याजिक गाडी सञ्चालनको तयारी गरिएको छ। भिमसेन यातायात सेवा प्रा लिका अध्यक्ष बुद्धी श्रेष्ठका अनुसार बजार क्षेत्रमा साना सवारी साधन सञ्चालन गरी यात्रुहरुलाई सहज आवागमन सुविधा उपलब्ध गराउने योजना अघि बढाइएको हो।
उनका अनुसार प्रारम्भिक चरणमा ५० वटा अटो रिक्सा र ३० वटा म्याजिक गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। गोरखा बजारभित्र बढ्दो यातायात चाप र यात्रुहरुको दैनिक आवतजावतलाई व्यवस्थित गर्न यसले महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हालसम्म गोरखा बजार क्षेत्रमा ठूला सवारी साधनको भरमा यातायात सञ्चालन हुँदै आएको अवस्थामा साना सवारी साधन थपिँदा यात्रुहरुलाई छोटो दूरीका लागि छिटो र सुलभ सेवा उपलब्ध हुने विश्वास गरिएको छ। विशेषगरी बजार क्षेत्रका साँघुरा सडक र भीडभाडलाई मध्यनजर गर्दै अटो रिक्सा र म्याजिक गाडी प्रभावकारी विकल्प बन्ने बताइएको छ।
भिमसेन यातायात सेवा प्रालिले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। स्थानीयवासी र व्यवसायीहरुले पनि यस योजनालाई सकारात्मक रूपमा लिएका छन् भने कार्यान्वयनमा आएपछि गोरखा बजारको यातायात व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।