२६ चैत काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रमा बुधबार साँझ भएको चक्कु प्रहारको घटनामा दुई दाजुभाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फोन डायल गर्दा भएको सामान्य त्रुटिबाट सुरु भएको विवाद मिलाउन र माफी माग्न दुवै दाजुभाइ घटनास्थल पुगेका थिए। तर, उनीहरूले कुरा राख्न नपाउँदै नजिकैको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सिर्जनमाथि चक्कु प्रहार गरेका थिए।
भाइमाथि आक्रमण भएपछि छुट्याउन गएका दाजु सुमितमाथि पनि आक्रमण हुँदा दुवै गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाउनेबित्तिकै सातदोबाटो र पुल्चोकबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई तत्काल ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो। तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार हुने प्रयास गरेका आरोपी सञ्जीव नेपालीलाई नजिकैको एक रेष्टुरेन्टमा लुकेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने क्रममा उनले प्रहरीमाथि दुर्व्यवहार गर्ने प्रयाससमेत गरेको जनाइएको छ।प्रारम्भिक अनुसन्धानअनुसार मृतक दाजुभाइ ललितपुरको इमाडोलमा बसोबास गर्दै आएका थिए। उनीहरू आमा भेट्न लन्डन जाने तयारीमा रहेको अवस्थामा सामान्य विवादकै कारण ज्यान गुमाउन पुगेका हुन्।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।