२९ चैत काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएको जानकारी दिएका छन्। मौरिससमा जारी नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेको बताएका हुन्।
“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणलाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ। दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ,” मन्त्री खनालले भने।उनका अनुसार चैत १३ गते पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहलाई मोदीले बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएका थिए।
मन्त्री खनालले सरकारको दीर्घकालीन आर्थिक लक्ष्यबारे पनि जानकारी दिएका छन्। उनले आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बर बनाउने तथा नेपाललाई ‘कम विकसित देश’बाट ‘मध्यम आय भएको देश’मा स्तरोन्नति गर्ने लक्ष्य लिइएको बताए।
“सरकारले आगामी १० वर्षमा जीडीपी दोब्बर बनाउने र नेपाललाई मध्यम आय भएको देशमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ,” उनले भने।उनका अनुसार उक्त लक्ष्य हासिल गर्न सुशासन प्रवर्द्धन (भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तार) तथा आर्थिक सुधार (पर्यटन, पूर्वाधार विकास र जलविद्युत्मा) विशेष जोड दिइनेछ।परराष्ट्र नीतिका विषयमा उनले नयाँ सरकार गठन भए पनि नीति निरन्तरता कायम रहने स्पष्ट पारे।
संविधानले निर्दिष्ट गरेका सार्वभौमिकता, भौगोलिक अखण्डता र असंलग्नताको सिद्धान्तमा सरकार अडिग रहने उनको भनाइ छ।यसैगरी, खाडी मुलुकमा कार्यरत करिब २० लाख नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री खनालले बताए।
सम्भावित क्षेत्रीय संकटका कारण रेमिट्यान्स, इन्धनको मूल्य तथा मलखाद आपूर्तिमा पर्न सक्ने प्रभावप्रति सरकार सचेत रहेको उनले जानकारी दिए। यस विषयमा भारतीय विदेश मन्त्रीसँग छलफल भइसकेको पनि उनले उल्लेख गरे। सरकारले आन्तरिक तथा बाह्य चुनौतीहरूबीच समन्वय गर्दै आर्थिक विकास र कूटनीतिक सन्तुलन कायम राख्ने दिशामा काम अघि बढाइरहेको मन्त्री खनालको भनाइ छ।