२९ चैत काठमाडौँ । काठमाडौं महानगरपालिकाले इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिएकी हुन्।
विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असरलाई मध्यनजर गर्दै महानगरले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू अबदेखि आलोपालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यसअनुसार एउटै सवारी साधन धेरै अधिकारीहरूले साझा रूपमा प्रयोग गर्नेछन्।
यस प्रणालीको आवश्यकता औँल्याउँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्, “विश्वभर इन्धनको अभाव छ। यस्तो अवस्थामा पहिलेकै रूपमा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धनसमेत अभाव हुन सक्छ। त्यसैले इन्धनको प्रयोग घटाउनु अपरिहार्य छ र हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ।”
महानगरपालिकाले यसअघि नै ४८औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयलाई थप प्रभावकारी बनाउन ‘कार पुलिङ’ अवधारणा लागू गरिएको हो।यस कदमले इन्धन बचतसँगै वातावरणीय प्रदूषण न्यूनीकरण, खर्च नियन्त्रण र सवारी व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। महानगरले आगामी दिनमा पनि स्रोत साधनको दक्ष उपयोगलाई प्राथमिकता दिने जनाएको छ।