२९ चैत काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन थापाले २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई देशकै नम्बर १ पार्टी बनाउने दाबी गरेका छन्।पार्टीलाई रि–ब्रान्डिङ र पुनर्संरचना गर्दै आगामी निर्वाचनमा अग्रस्थानमा पुर्याउने लक्ष्य उनले सार्वजनिक गरेका हुन्।
पोखरामा आयोजित पार्टीको आन्तरिक समीक्षा तथा ‘आगामी बाटो’ कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०८३ सालभित्र पार्टीलाई थप मजबुत बनाउने र २०८४ को स्थानीय तथा प्रादेशिक निर्वाचनमा पुनः पहिलो पार्टी बन्ने संकल्प व्यक्त गरे।
उनले वर्तमान अवस्थालाई आत्ममूल्याङ्कन र सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै भने, “अहिले हारको चिन्ता गर्ने समय होइन, गम्भीर चिन्तन गर्ने बेला हो।” पार्टीभित्रको संरचनात्मक सुधार, संगठन सुदृढीकरण र नयाँ ढंगले प्रस्तुत हुने रणनीतिमा जोड दिँदै उनले कांग्रेसलाई जनताको पहिलो रोजाइ बनाउने लक्ष्य रहेको बताए।
थापाका अनुसार पार्टीको छवि सुधार, युवा सहभागिता वृद्धि, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र संगठनात्मक पुनर्संरचनाले कांग्रेसलाई पुनः शक्तिशाली बनाउनेछ। उनले सबै तहका नेता–कार्यकर्तालाई एकजुट भएर पार्टी सुदृढीकरणमा लाग्न आह्वान गरे।उनको अभिव्यक्तिले कांग्रेसभित्र नयाँ ऊर्जा र रणनीतिक बहसको संकेत दिएको छ भने आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीले रूपान्तरणको बाटो समातेको सन्देश दिएको छ।