३० चैत काठमाडौँ । नेपाल पत्रकार महासंघको हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले महिला पत्रकारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका केन्द्रीय सदस्य विकास बन्जाडेलाई निलम्बन गर्ने निर्णय गरेको छ।
महासंघको बैठकले बन्जाडेमाथि गम्भीर प्रकृतिको आरोप लागेको भन्दै प्रारम्भिक छानबिन प्रभावित नहोस् भन्ने उद्देश्यले उनलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। बैठकमा सहभागी पदाधिकारीहरूका अनुसार घटनालाई गम्भीर रूपमा लिँदै संस्थागत मर्यादा जोगाउन यस्तो कदम चालिएको हो।
महासंघले घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने तयारीसमेत गरेको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।पीडित महिला पत्रकारको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै महासंघले घटनाबारे विस्तृत विवरण सार्वजनिक नगरेको जनाएको छ। साथै, यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारिएको छ।
महासंघका एक पदाधिकारीले भने, “पत्रकारिता पेशाको मर्यादा र विश्वास कायम राख्न कुनै पनि प्रकारको दुर्व्यवहार अस्वीकार्य छ। दोषी ठहर भए कडा कारबाही गरिन्छ।”यस घटनाले पत्रकारिता क्षेत्रभित्र कार्यस्थल सुरक्षाबारे पुनः बहस सुरु गराएको छ भने महिला पत्रकारहरूको सुरक्षाका लागि थप प्रभावकारी संयन्त्र आवश्यक रहेको आवाज उठ्न थालेको छ।