२ वैशाख काठमाडौं — पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितका प्रतिवादीविरुद्ध दायर भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइको चरणमा प्रवेश गरेको छ। विशेष अदालतमा यस मुद्दाको पेसी तोकिएको हो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको छ। यसअघि अदालतले बहस नोट पेस गर्न आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजायको माग दाबी गरेको छ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप लगाइएको छ। साथै, भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको दाबीसमेत गरिएको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो। त्यस्तै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाइएको आरोप छ।
उक्त प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको भन्दै ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो। अख्तियारले सोही आधारमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुल गर्न माग दाबी गरेको छ।हाल यो मुद्दा विशेष अदालतमा अन्तिम चरणको सुनुवाइमा रहेकाले छिट्टै फैसला आउने अपेक्षा गरिएको छ।