२ वैशाख काठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा तथा संयुक्त समितिका सभापतिहरू चयनका लागि मनोनयन दर्ता प्रक्रिया बिहीबार हुने भएको छ। सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको जानकारी दिएका छन्।सूचनाअनुसार मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। त्यस्तै, उम्मेदवारहरूको अन्तिम सूची सोही दिन दिउँसो साढे ४ बजे सार्वजनिक गरिनेछ।
प्रतिनिधिसभा अन्तर्गत रहेका १० वटा विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन गर्न बाँकी रहेको छ। यसअघिको बैठकमा, चैत २७ गते, प्रतिनिधिसभाले ती समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो।सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते सभापति चयनका लागि निर्वाचन गर्ने मिति घोषणा गरेका थिए।
नियमअनुसार सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्न सोही समितिका एक जना सदस्य प्रस्तावक र अर्को एक जना सदस्य समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ।संसदीय समितिहरूको नेतृत्व चयनसँगै विधायन, अनुगमन तथा नीति निर्माण सम्बन्धी कार्यहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
