३ वैशाख काठमाडौँ । गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं.–६ ताकुकोटमा सञ्चालन भइरहेको बजारखोप खानेपानी आयोजनाको निर्माण कार्यमा भएको ढिलासुस्तीबारे मन्त्रालय स्तरमै गम्भीर छलफल भएको छ।
प्रदेश खानेपानी मन्त्रालयका सचिव देवराज निरौलासमक्ष गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट, वडा अध्यक्ष बाबुलाल गुरुङ तथा अन्य प्रतिनिधिहरूको उपस्थितिमा आयोजना सम्बन्धी समस्या र प्रगतिको अवस्थाबारे समीक्षा गरिएको हो।
छलफलका क्रममा ताकुकोटका स्थानीय बासिन्दाहरूले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावको समस्याबारे ध्यानाकर्षण गराउँदै आयोजना समयमै सम्पन्न नहुँदा दैनिक जीवनमा परेको असरबारे गुनासो व्यक्त गरेका थिए।
बैठकमा विशेष गरी निर्माण कार्यले अपेक्षित गति लिन नसक्नुका कारणबारे गहिरो विश्लेषण गरिएको थियो। प्राविधिक समस्या, समन्वय अभाव तथा कार्यान्वयन पक्षमा देखिएका कमजोरीहरू मुख्य कारणका रूपमा उठाइएको थियो।
सचिव निरौलाले आयोजनाको ढिलाइप्रति चासो व्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने र निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।
स्थानीय जनप्रतिनिधिहरूले भने आयोजनालाई छिटो सम्पन्न गरी ताकुकोटका बासिन्दालाई सहज र सुरक्षित खानेपानी उपलब्ध गराउन तत्काल ठोस कदम चाल्न माग गरेका छन्।