९ वैशाख काठमाडौं । आगामी वैशाख १४ गते सोमबारदेखि देशभर कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार ७७ वटै जिल्लामा एकैसाथ हुने परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुनेछन्।बोर्डले दिएको जानकारीअनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ जना र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षा दिन लागेका हुन्।
२०७९ साल यताका विद्यार्थीहरू आंशिक परीक्षामा सहभागी हुने व्यवस्था गरिएको छ।यस वर्ष पनि विदेशबाट समेत नेपाली विद्यार्थीहरूले परीक्षा दिनेछन्। जापानस्थित एभरेस्ट स्कुल बाट ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा का अनुसार गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या घटेको छ।
सोही कारण परीक्षा केन्द्रहरूको संख्या पनि केही कम गरिएको उनले जानकारी दिएका छन्।देशभर सञ्चालन हुने परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक तयारी पूरा गरिएको बोर्डले जनाएको छ। साथै, परीक्षार्थीलाई निर्धक्क र अनुशासित रूपमा परीक्षा दिन आग्रह गरिएको छ।