९ वैशाख काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले नै सम्हाल्ने भएका छन्।बुधबार गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै नयाँ गृहमन्त्री तत्काल नियुक्त नगर्ने निर्णय भएको हो। प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालय आफैंसँग राखेर आवश्यक निर्णयहरू अघि बढाइने जनाइएको छ।
“तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्री आफैंले राख्नुहुन्छ। विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न सक्ने सम्भावना पनि छ,” स्रोतले जानकारी दिएको छ।
गुरुङको राजीनामापछि गृह प्रशासन, सुरक्षा संयन्त्र तथा शान्ति–सुरक्षासँग सम्बन्धित कामहरू प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयबाट नै सञ्चालन हुने भएका छन्। साथै, पछिल्लो विवादबारे निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।
राजनीतिक रूपमा संवेदनशील मानिने गृह मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्ने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले सरकारको आगामी कदम, छानबिन प्रक्रिया तथा सम्भावित नयाँ नियुक्तिबारे चासो बढाएको छ।