१६ वैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक छलफल आज बस्दैछ। छलफलका लागि पार्टी सभापति रवि लामिछाने बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुग्ने सचिवालयले जनाएको छ।
आजको बैठकमा सरकारले हालै सिफारिस गरेको अध्यादेशका विषयमा विस्तृत छलफल हुने बताइएको छ। सभापति लामिछानेले उक्त अध्यादेशबारे सांसदहरूको धारणा र सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, अध्यादेश ल्याउनुको आवश्यकता र त्यसका औचित्यबारे पनि सांसदहरूलाई जानकारी गराइने जनाइएको छ। सरकारले सोमबार मात्रै संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो।
रास्वपाले भने केही महत्वपूर्ण कानुनहरू फास्ट ट्र्याकमार्फत अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएकाले अध्यादेश ल्याउनुपरेको स्पष्ट पारेको छ। यस विषयमा पार्टीभित्र थप रणनीति तय गर्न आजको छलफललाई महत्त्वपूर्ण मानिएको छ।