१६ वैशाख काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेज मा भर्ना गरिएको छ।अस्पताल स्रोतका अनुसार उनलाई आज बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक जानकारी अनुसार हिजो रातिदेखि ज्वरो आएको र बिहान अस्पताल आइपुग्दा उनको सुगर लेभल अत्यन्तै कम रहेको पाइएको थियो।
अस्पताल स्रोतले भन्यो, “हिजो राति ज्वरो आएको थियो। बिहान अस्पताल आउँदा उहाँको सुगर लेभल निकै घटेको थियो, त्यसैले बेहोसी अवस्थामा हुनुहुन्थ्यो। अहिले भने होस आएको छ।”
अस्पतालका अनुसार प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ। उनलाई विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर थप उपचार प्रक्रिया अघि बढाइएको छ।
स्वास्थ्यमा समस्या देखिनुको यकिन कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू पनि भइरहेको अस्पतालले जनाएको छ। एक अधिकारीका अनुसार, “थप परीक्षणहरू गरिरहेका छौं। अहिले उहाँलाई भर्ना गरेर उपचार भइरहेको छ।”उपसभामुख ठाकुरको स्वास्थ्य अवस्थाबारे थप विवरण परीक्षणको नतिजापछि सार्वजनिक गरिने अस्पतालले जनाएको छ।