१७ वैशाख काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले फागुन २१ गते सम्पन्न निर्वाचन असामान्य भएको दाबी गरेका छन्। विभिन्न स्थानबाट प्राप्त सूचनाका आधारमा चुनावको परिणाम स्वाभाविक नदेखिएको उनले बताएका हुन्।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा मुसिकोट मा पत्रकारहरूसँग कुरा गर्दै उनले केही उम्मेदवारले आफूले हालेको भोटसमेत नपरेको गुनासो गरेको जानकारी दिए। कतिपय स्थानमा अनपेक्षित रूपमा अत्यधिक मत आएको र कतिपय ठाउँमा मत हराएको जस्ता घटनाहरू आएको उनको भनाइ छ।यस विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको उनको जोड थियो। तर राष्ट्रिय स्वतन्त्र पार्टी ले प्राप्त गरेको मतलाई भने आफूले स्वीकार गरेको उनले स्पष्ट पारे।
प्रचण्डले आफ्नो पार्टीले सरकारका सकारात्मक काममा साथ दिने र गलत काममा सशक्त विरोध गर्ने नीति लिएको बताए। आफूहरू रचनात्मक प्रतिपक्षको भूमिकामा रहने उनको भनाइ थियो।उनले पार्टीभित्र युवालाई प्राथमिकता दिने योजना पनि सार्वजनिक गरे। वडादेखि केन्द्रसम्मका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने र प्रत्येक तहमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले बताए।
यसैबीच उनले सरकारका केही निर्णयको आलोचना गर्दै सुकुमवासी हटाउने, अध्यादेश ल्याउने र संसद् बैठक स्थगित गर्ने कार्य असंवैधानिक भएको टिप्पणी गरे। सरकारका पछिल्ला गतिविधिले देशलाई गलत दिशातर्फ लैजान सक्ने भन्दै उनले सचेत रहन आग्रह गरे।साथै, उनले कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।