२२ वैशाख काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–२ अपुनस्थित प्रभा माध्यमिक विद्यालयमा हिजो आएको शक्तिशाली हावाहुरीका कारण भौतिक संरचनामा क्षति पुगेको छ। अचानक आएको हावाहुरीले विद्यालय भवनका छाना उडाउने, झ्याल–ढोका क्षति गर्ने तथा कक्षाकोठाभित्रका सामग्रीमा समेत असर पुर्याएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका अनुसार हावाहुरीका कारण केही कक्षाकोठा असुरक्षित बनेका छन् भने पठनपाठन अस्थायी रूपमा प्रभावित भएको छ। विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि केही कक्षा व्यवस्थापन अन्य सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले क्षतिग्रस्त संरचनाको तत्काल मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले प्राकृतिक विपद्का कारण शिक्षण गतिविधि प्रभावित हुन नदिन आवश्यक सहयोग र राहत सामग्री उपलब्ध गराउन आग्रह गरेका छन्।स्थानीय तहले प्रारम्भिक निरीक्षण गरी क्षतिको विवरण संकलन सुरु गरेको जनाएको छ। विद्यालय प्रशासनले पनि विस्तृत क्षति मूल्याङ्कन प्रतिवेदन तयार पार्ने तयारी गरेको छ।यसैबीच, स्थानीय बासिन्दाले विद्यालय जस्तो संवेदनशील शैक्षिक संस्थामा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै छिटो पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।
तस्बिर राजु लामा


