२३ वैशाख काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच भएको विवादले गम्भीर रूप लिएको छ। गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सी.ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि सिसाको गिलास प्रहार गरेको घटना सार्वजनिक भएको हो।
पालिका स्रोतका अनुसार वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष वि.सी. ले आफ्नै कार्यकक्षभित्र नियमित कार्यालय कामकाजकै क्रममा घर्तीमाथि गिलास प्रहार गरेका हुन्। उक्त समयमा कार्यकक्षमा अन्य कर्मचारीसमेत उपस्थित रहेको जनाइएको छ।
सामान्य विषयमा सुरु भएको विवाद चर्किँदै जाँदा अध्यक्षले आक्रोशमा आएर गिलास प्रहार गरेको स्रोतले बताएको छ। घटनाको पृष्ठभूमिमा अनियमित इन्धन प्रयोग, अध्यक्षले होटेलमैत्री कार्यक्रम सञ्चालन गर्न खोजेको विषय, तथा विभिन्न असम्बन्धित व्यापारिक व्यक्ति र संघ–संस्थासँगको सम्बन्धबारे प्रमुख प्रशासकीय अधिकृत घर्तीले असहमति जनाउँदै आएको विषय रहेको उल्लेख गरिएको छ।
यसैगरी अध्यक्ष वि।सी। ले कार्यालय प्रयोजनका सामग्री आफैं खरिद गर्ने गरेको, ती सामग्री अध्यक्षकै दराजमा राखिएको र हालसम्म ती सामग्रीको बिल भुक्तानीसमेत नभएको अवस्था रहेको स्रोतको दाबी छ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत घर्ती कार्यालय नगएको र उनले प्रमुख जिल्ला अधिकारी तथा संघीय मामिला तथा सामान्य aप्रशासन मन्त्रालयलाई घटनाबारे जानकारी गराइसकेको जनाइएको छ। उनले सुरक्षाको कारण सो स्थानमा रही काम गर्न नसक्ने जानकारीसमेत मन्त्रालयलाई दिएका छन्।
पालिका स्रोतका अनुसार अध्यक्ष वि।सी। ले यसअघि पनि प्रमुख प्रशासनिक अधिकृत तथा शिक्षा शाखा प्रमुखमाथि रजिस्टर ढड्डा प्रहार गरेको आरोप लागेको छ।घटनाबारे अध्यक्षसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि उनीसँग सम्पर्क हुन सकेको छैन। उक्त घटनाले स्थानीय तहको कार्यशैली र प्रशासनिक समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ।