Logo

शुक्रवार, श्रावण १५ गते २०८३

बँदेल मार्ने प्रस्तावमा संसद्‌मा चर्काचर्की, व्यवस्थापन कि संरक्षण भन्नेमा विवाद

बँदेल मार्ने प्रस्तावमा संसद्‌मा चर्काचर्की, व्यवस्थापन कि संरक्षण भन्नेमा विवाद

जोईन खबर

२३, बैशाख २०८३
  • 244
    SHARES
  • बँदेल मार्ने प्रस्तावमा संसद्‌मा चर्काचर्की, व्यवस्थापन कि संरक्षण भन्नेमा विवाद

    २३ वैशाख काठमाडौँ ।  प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबार बसेको बैठकमा जंगली जनावर व्यवस्थापनको विषयमा सांसदहरूबीच चर्काचर्की भएको छ। विशेषगरी एमाले र रास्वपाका सांसदहरूबीच बँदेल र बाँदर नियन्त्रणका उपायलाई लिएर तीव्र बहस भएको हो।

    images

    बैठकमा एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले जंगली जनावरका कारण किसानहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै बाँदरको बन्ध्याकरण र बँदेल मार्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे। उनले बँदेलका कारण खेतबाली नष्ट हुनुका साथै मानव सुरक्षामा समेत खतरा बढेको बताए।

    तर, पोखरेलको ‘बँदेल मार्ने’ प्रस्ताव सुन्नासाथ रास्वपाकी सांसद आशिका तामाङले कडा आपत्ति जनाइन्। उनले जनावर मार्ने कुरा गर्नु उपयुक्त नभएको भन्दै जनावरको पनि बाँच्न पाउने अधिकार रहेको तर्क गरिन्। “माननीय भएर जनावर मार्ने कुरा नगरौँ,” उनले भनिन्।

    पोखरेलले भने बँदेलले मानिसमाथि आक्रमण गरेको घटनाहरू उल्लेख गर्दै आवश्यक परे मार्ने विकल्प पनि खुला राख्नुपर्ने बताए। जवाफमा तामाङले पुनः मार्ने कुरा अस्वीकार्य रहेको अडान दोहोर्‍याइन्।

    विवाद चर्किंदै जाँदा पोखरेलले ‘नमार्ने हो भने उचित व्यवस्थापनका उपाय खोज्नुपर्छ’ भन्दै वैकल्पिक समाधानमा ध्यान दिनुपर्ने धारणा राखे। तामाङले जर्मनीको उदाहरण दिँदै त्यहाँ जनावर नमार्ने नीति रहेको र विभिन्न क्षेत्रमा इलेक्ट्रिक तारबार लगाएर व्यवस्थापन गरिने बताइन्।

    यस क्रममा सांसदहरूबीच सवाल(जवाफ तीव्र बनेपछि समिति सभापति अशोककुमार चौधरीले हस्तक्षेप गर्दै वातावरण शान्त बनाएका थिए।

    बैठकमा रास्वपाका अर्का सांसद सागर ढकालले भावनात्मक बहसभन्दा अध्ययनमा आधारित समाधान आवश्यक रहेको बताए। “समस्या मात्र उठाउने होइन, समाधान पनि दिनुपर्छ। बाँदर र बँदेल नियन्त्रणका उपायहरू के हुन सक्छन् भन्नेबारे अध्ययन गरेर कार्यान्वयनमा जानुपर्छ,” उनले भने।

    तर ढकालको भनाइपछि पनि सांसद तामाङले जर्मनीको उदाहरण पुनः दोहोर्‍याउँदै जनावर नमार्ने नीति नै अपनाउनुपर्नेमा जोड दिइन्।समितिको बैठकमा उठेको यो विवादले नेपालमा जंगली जनावर व्यवस्थापनको नीति, किसानको सुरक्षा र जैविक संरक्षणबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ।

    प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - १७:४७:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको