२५ वैशाख काठमाडौँ । विद्या चापागाईं आज नेपाली पत्रकारिताको सबैभन्दा विश्वासिलो र सम्मानित अनुहारमध्ये एक मानिन्छिन् । काठमाडौंको गोठाटार स्थित सामान्य किसान परिवारमा जन्मिएकी उनले संघर्ष, मेहनत र इमान्दारितामार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेकी हुन् ।
दाइले पत्रिकामा लेखेका अक्षरबाट प्रेरणा पाएपछि पत्रकारितातर्फ आकर्षित भएकी विद्याले रेडियो, पत्रिका र टेलिभिजन हुँदै आफ्नो यात्रा अघि बढाइन् । उनको प्रस्तुति शैली, गहिरो अध्ययन र निर्भीक प्रश्नले छोटो समयमै दर्शकमाझ विशेष स्थान बनायो ।
विशेषगरी BBC Nepali Service को चर्चित कार्यक्रम Sajha Sawal सञ्चालन गरेपछि उनी देशभर चर्चामा आइन् । कार्यक्रममा उनले प्रधानमन्त्रीदेखि शक्तिशाली नेतासम्मलाई कठोर र सीधा प्रश्न सोध्ने शैली अपनाइन् ।पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सँगको एक चर्चित अन्तर्वार्तापछि उनी नेपाली टेलिभिजनकै ‘निर्भीक महिला आवाज’का रूपमा स्थापित भइन् ।
लोकप्रियताको उचाइमै रहेका बेला सन् २०१८ मा उनले बीबीसीको जागिर छाड्ने निर्णय गरिन् । धेरैले त्यो निर्णयलाई असामान्य भने पनि विद्याले गाउँ–समाजका ओझेलमा परेका कथालाई उजागर गर्ने सपना रोजिन् । त्यसपछि पत्रकार कमल कुमार सँग मिलेर उनले Herne Katha सुरु गरिन् ।
‘हेर्ने कथा’मार्फत उनले कर्णालीका विकट बस्तीदेखि मधेशका गाउँसम्म पुगेर मूलधारको मिडियाबाट छुटेका मानिसहरूको जीवनकथा प्रस्तुत गरिन् । समाजका पीडा, संघर्ष, अभाव र आशाका कथालाई मानवीय ढंगले प्रस्तुत गर्ने शैलीका कारण कार्यक्रमले लाखौँ दर्शकको मन जितेको छ ।आज ‘हेर्ने कथा’ केवल युट्युब कार्यक्रम मात्र नभई नेपाली समाजको भावना, यथार्थ र भरोसाको आवाज बनेको छ ।
लोकप्रियता, पुरस्कार र व्यापक प्रशंसाबीच पनि विद्या चापागाईं सादगी, विनम्रता र जमिनसँग जोडिएको स्वभावका कारण थप सम्मानित बनेकी छन् । कुनै विवाद वा राजनीतिक गुटमा नफसेकी उनी आजको पुस्ताका लागि साहस, इमान्दारी र मानवीय पत्रकारिताको जिउँदो प्रतीकका रूपमा चिनिन्छिन् ।