२८ वैशाख काठमाडौँ । टोखा–शिवपुरी जंगल क्षेत्रमा भएको दर्दनाक घटनापछि एक परिवार गहिरो शोकमा डुबेको छ। आफ्नै आमालाई गुमाएकी एक छोरीले सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलाइएका अपुष्ट तथा भ्रामक सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक रूपमा भावुक अपिल गरेकी छन्।मृतककी छोरीले आमाको निधनपछि आफूहरू ठूलो पीडामा रहेको बेला केही युट्युब च्यानल र सामाजिक सञ्जाल पेजहरूले तथ्य पुष्टि नगरी “अनैतिक सम्बन्ध”, “गोप्य कथा” जस्ता शीर्षक प्रयोग गरेर सामग्री बनाएको भन्दै दुःख व्यक्त गरेकी हुन्।
उनका अनुसार यस्ता सामग्रीले परिवारको मानसिक अवस्था झन् विक्षिप्त बनाएको छ।भावुक हुँदै उनले भनेकी छन्, “कृपया मेरी आमाको नाममा झुट नफैलाउनुहोस्‘ उहाँ अब बोल्न सक्नुहुन्न, आफ्नो बचाउ गर्न सक्नुहुन्न। कम्तीमा उहाँको सम्मान त बचाइदिनुहोस्‘”उनका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिसँग मृतकको सामान्य चिनजानबाहेक अन्य कुनै सम्बन्ध थिएन। तर सामाजिक सञ्जालमा भ्यूज, लाइक र चर्चाको उद्देश्यले वास्तविकता तोडमोड गरी मृतकको चरित्रमाथि प्रहार गरिएको आरोप उनले लगाएकी छन्।सार्वजनिक भिडियो सन्देशमार्फत छोरीले भनेकी छन्, “हामीले आमालाई गुमाइसक्यौं‘ अब उहाँको इज्जत पनि खोस्ने काम नगर्नुहोस्। हरेक रात ती भिडियो र कमेन्ट पढ्दा हाम्रो परिवार फेरि–फेरि मर्छ।
”उनले थपिन्, “एउटी छोरीको ठाउँमा आफूलाई राखेर सोचिदिनुहोस्। तपाईंहरूको एउटा गलत समाचारले हाम्रो परिवारलाई कति ठूलो मानसिक पीडा दिएको छ, त्यो शब्दमा भन्न सकिँदैन।”परिवारका आफन्तहरूका अनुसार घटना आफैंमा असह्य पीडादायी भए पनि त्यसपछि सामाजिक सञ्जालमा आएका अपुष्ट सामग्री र अपमानजनक टिप्पणीहरूले परिवारलाई झन् ठूलो मानसिक आघात पुगेको छ। मृतकको तस्वीरमुनि गरिएका नकारात्मक टिप्पणी देख्दा छोरी पटक–पटक भक्कानिएर रोएको समेत बताइएको छ।
यस घटनाले फेरि एकपटक सामाजिक सञ्जालको जिम्मेवारी, पत्रकारिताको नैतिकता र मानवियतामाथि गम्भीर प्रश्न उठाएको छ। के केही भ्यूज र भाइरलका लागि मृत व्यक्तिको चरित्रमाथि खेलबाड गर्न मिल्छरु सत्य पुष्टि नहुँदै अनुमानका आधारमा सामग्री बनाउनु कति उचित होरु भन्ने बहस पुनः चर्किएको छ।परिवारले सत्यतथ्य नआउँदासम्म अनुमानका आधारमा कसैको व्यक्तिगत जीवन र सम्मानमाथि प्रहार नगर्न सञ्चारमाध्यम, युट्युब सामग्री निर्माता तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई विनम्र आग्रह गरेको छ। (नोट : घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले आधिकारिक पुष्टि नभएका दाबी वा व्यक्तिगत आरोपलाई तथ्यका रूपमा प्रस्तुत गरिएको छैन।