३० वैशाख काठमाडौँ । काठमाडौँ सुनचाँदी व्यवसाय सङ्घले भेडासिंह बजारस्थित “नैना एन्ड इशान ज्वेलरी”मा हुन लागेको लुटपाट प्रयासलाई असफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी युवती सजिना शाक्यलाई सम्मान गरेको छ।
सङ्घले एक कार्यक्रमका बीच शाक्यको साहस, सतर्कता र समयमै देखाएको सक्रियताको कदर गर्दै सम्मानपत्रसहित सम्मान गरेको जनाएको छ। ज्वेलरी व्यवसाय तथा व्यवसायीको सुरक्षामा नागरिकस्तरबाट देखाइएको जिम्मेवारीपूर्ण भूमिकाले सकारात्मक सन्देश दिएको भन्दै सङ्घले उनको प्रशंसा गरेको हो।
भेडासिंह बजारमा रहेको “नैना एन्ड इशान ज्वेलरी”मा लुटपाटको प्रयास भएको समयमा सजिना शाक्यले साहसिक रूपमा परिस्थिति सम्हाल्दै घटना नियन्त्रणमा सहयोग पुर्याएको बताइएको छ। उनको तत्परताका कारण सम्भावित ठूलो क्षति हुनबाट जोगिएको व्यवसायीहरूको भनाइ छ।
यसैबीच, “नैना एन्ड इशान ज्वेलरी”का सञ्चालक बबिता रौनियारले पनि शाक्यलाई विशेष सम्मान गरेकी छन्। रौनियारले कठिन परिस्थितिमा सजिनाले देखाएको साहस र मानवीय सहयोगको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गरिन्। उनले व्यवसाय जोगाउन सजिनाले खेलेको भूमिकालाई अविस्मरणीय भन्दै यस्ता साहसी नागरिकलाई समाजले सम्मान गर्नुपर्ने बताइन्।
सम्मान कार्यक्रममा व्यवसायी, स्थानीय व्यापारी तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो। सहभागीहरूले सजिना शाक्यको साहसिक कार्यले समुदायमा सुरक्षा सचेतना र आपसी सहयोगको भावना बलियो बनाएको बताएका थिए।