१ जेष्ठ काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा गाउँपालिका तथा सातै वडामा संगठन विस्तार गर्दै समिति गठन गरेको छ। गाउँपालिका समितिको अध्यक्षमा पर्यटन व्यवसायी धावा ग्याल्जेन लामा चयन भएका छन्। पार्टी संगठन सुदृढीकरण अभियानअन्तर्गत चुमनुब्री गाउँपालिकामा समिति गठन गरिएको र सातवटै वडामा पनि नेतृत्व चयन गरिएको जनाइएको छ। नवगठित समितिले स्थानीय स्तरमा पार्टीको गतिविधि विस्तार, संगठन मजबुत बनाउने तथा जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष चयन भएका धावा ग्याल्जेन लामा पर्यटन व्यवसायमा समेत सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। स्थानीय पर्यटन प्रवर्द्धन र सामाजिक गतिविधिमा उनको संलग्नता रहेको बताइन्छ।
विशेष महत्त्वको विषय के छ भने, चुमनुब्री गाउँपालिका पूर्व गृहमन्त्री तथा रास्वपा गोरखा–१ का सांसद सुदन गुरुङको गृहपालिका हो। उनको गृह क्षेत्रमा पार्टी संगठन विस्तारलाई रास्वपाले रणनीतिक रूपमा महत्त्वपूर्ण कदमका रूपमा लिएको राजनीतिक वृत्तमा चर्चा छ।
स्थानीय तहमा संगठन विस्तारसँगै रास्वपाले गोरखामा आफ्नो राजनीतिक आधार बलियो बनाउने प्रयासलाई तीव्र बनाएको देखिन्छ। पार्टीले आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद, विकासका मुद्दा र स्थानीय आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।