१ जेष्ठ काठमाडौँ । गोरखामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित बारपाक बहुप्राविधिक शिक्षालय, बारपाक सुलिकोट–४, सौरपानीले शैक्षिक सत्र २०८३ र ०८४ का लागि डिप्लोमा तहका कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। गोरखा जिल्लामा कृषिसम्बन्धी अध्ययनका लागि (सीटीईभीटी)को आंगिक शिक्षालयका रूपमा रहेको यस शिक्षालयले पशु विज्ञान र बाली विज्ञान कार्यक्रममा विद्यार्थी भर्ना लिन लागेको जनाएको हो।
शिक्षालयका अनुसार दुवै कार्यक्रमतर्फ ४० र ४० सिट निर्धारण गरिएको छ। विद्यार्थीहरूले तीन वर्षे डिप्लोमा कार्यक्रम अध्ययन गर्न सक्नेछन्। शुल्कतर्फ सहुलियत कोटामा २७ हजार रुपैयाँ तथा पूर्ण शुल्किय कोटामा ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
विशेषगरी बारपाक सुलिकोट गाउँपालिका ले सहुलियत तथा पूर्ण शुल्किय दुवै श्रेणीका प्रशिक्षार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको शिक्षालयले जनाएको छ। साथै, छात्राहरूका लागि निःशुल्क छात्रावास सुविधा समेत उपलब्ध रहेको छ।
शिक्षालयले अध्ययनपछि रोजगारी तथा व्यवसायका विविध अवसर प्राप्त हुने जनाएको छ। यस कार्यक्रम अध्ययन गरेका विद्यार्थीहरूले फार्म तथा फिड उद्योगमा प्राविधिक, आफ्नै कृषि वा पशु व्यवसाय सञ्चालन गर्ने उद्यमी, एग्रोभेट तथा भेट क्लिनिक सञ्चालन, साथै देश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न सक्ने अवसर प्राप्त गर्नेछन्।
त्यस्तै, कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा सुब्बा (पाँचौं तह) तथा खरिदार (चौथो तह) मा रोजगारीको अवसरका साथै प्रदेश तथा स्थानीय तहका कृषि तथा पशु सेवा कार्यालय, विभिन्न बोर्ड, संस्था तथा परिषद्हरूमा समेत रोजगारीका सम्भावना रहेको जनाइएको छ।
भर्नाका लागि इच्छुक विद्यार्थीले (एसइइ) मा न्यूनतम १.६ जिपिए प्राप्त गरेको हुनुपर्नेछ। यस्तै, प्राविधिकएसएलसी (पीजेटीए भीजेटीए) अध्ययन गरेकाहरूका हकमा कम्तीमा ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ।थप जानकारीका लागि इच्छुकले ९८५६०१५२०४ वा ९८५६०१६२०४ नम्बरमा सम्पर्क गर्न सक्ने शिक्षालयले जनाएको छ।