११ जेष्ठ काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन अन्तिम चरणमा पुगेको जनाइएको छ। सरकारले गठन गरेको छानबिन समितिले अब गुरुङको बयान लिने तयारी गरेको स्रोतले जनाएको छ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको छानबिन समितिले आफ्नो काम आधाभन्दा बढी सम्पन्न भइसकेको बताउँदै अब प्रत्यक्ष सोधपुछ र प्रमाण संकलनको अन्तिम चरणमा प्रवेश गरेको जानकारी दिएको छ। समितिले गुरुङमाथि उठाइएका आरोप, सम्पत्ति विवरण, सेयर स्वामित्व तथा व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे अध्ययन गरिसकेको बताइएको छ।समितिसँग निकट स्रोतका अनुसार अब गुरुङसँग प्रत्यक्ष बयान लिएर प्राप्त विवरणलाई संकलित प्रमाण र कागजातसँग तुलना गरिने तयारी छ। छानबिन प्रक्रियालाई निष्पक्ष र प्रमाणमा आधारित बनाउन समिति केन्द्रित रहेको बताइएको छ।
समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले छानबिनबारे प्रतिक्रिया दिँदै “हामी बोल्दैनौं, हाम्रो प्रमाण बोल्छ” भन्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार अन्तिम प्रतिवेदन स्पष्ट तथ्य, प्रमाण र दस्तावेजका आधारमा तयार गरिनेछ। “यदि कसैलाई दोषी देखिन्छ भने त्यसलाई स्पष्ट रूपमा उल्लेख गरिनेछ, निर्दोष देखिएमा त्यसको आधार र कारणसहित निष्कर्ष प्रस्तुत गरिनेछ,” उनले बताएका छन्।
व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा पक्राउ परेपछि गुरुङको नाम विवादमा तानिएको थियो। त्यसपछि सम्पत्ति विवरण र सेयर स्वामित्वसम्बन्धी प्रश्न उठेपछि उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएको बताइएको छ।यता राजनीतिक वृत्तमा भने छानबिनबाट सफाइ पाए गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा सुरु भएको छ। रास्वपाभित्र पनि यस्तो सम्भावनाबारे अनौपचारिक बहस भइरहेको बताइए पनि यसबारे औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।