१२ जेष्ठ काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रेम खत्रीले गोरखामा स्थानीय आवश्यकताअनुसार विभिन्न सामग्री सहयोगलाई निरन्तरता दिएका छन्। महिलाहरूबीच सामाजिक एकता, नेतृत्व विकास तथा सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यसहित उनले गोरखाको चुमनुब्री गाउँपालिकाका सबै वडामा रहेका १४ वटा महिला समूहलाई आवश्यकताअनुसार कुर्सी सहयोग गरेका हुन्।
स्थानीय महिला समूहहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै गरिएको उक्त सहयोगले समूहगत बैठक, सामाजिक कार्यक्रम तथा क्षमता अभिवृद्धिका गतिविधि सञ्चालनमा सहजता पुग्ने अपेक्षा गरिएको छ। सहयोग प्राप्त महिला समूहहरूले यस कदमलाई सकारात्मक रूपमा लिँदै समुदायस्तरमा महिलाको सक्रियता बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।
नेता खत्रीले स्थानीय तहमा महिलाको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महिलाहरू आर्थिक, सामाजिक तथा नेतृत्वदायी भूमिकामा अझ सशक्त बन्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
चुमनुब्री गाउँपालिकाभित्र रहेका महिला समूहहरू सामाजिक एकता, सीप विकास तथा समुदाय केन्द्रित विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीय आवश्यकता र मागअनुसार गरिएको यस सहयोगले महिलाहरूको सहभागिता तथा आत्मविश्वास वृद्धि गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।