१४ जेष्ठ काठमाडौं । सुलिकोट स्वाँरा एकता समाज काठमाडौंले आफ्नो १९औँ वार्षिक साधारण सभा तथा एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले आगामी जेठ १६ गते शनिबार बिहान ११ बजे काठमाडौंको रानीदेवी पार्टी प्यालेस, पवित्रनगर–सामाखुशीमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा स्वाँराबासी समुदाय, आजीवन सदस्य, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
संस्थाका अध्यक्ष ज्ञानबहादुर गुरुङका अनुसार काठमाडौँमा अस्थायी तथा स्थायी बसोबास गर्ने सम्पूर्ण स्वाँराबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी, बुद्धिजीवी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गरिएको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ स्वाँराबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा संलग्न व्यक्तिहरू मिलेर गाउँ र समुदायको सामाजिक विकासमा योगदान गर्ने उद्देश्यले स्थापना भएको सुलिकोट स्वाँरा एकता समाजले विगतदेखि सामाजिक तथा मानवीय सेवाका कार्यहरू गर्दै आएको छ।
संस्थाका उपाध्यक्ष मिनबहादुर तामाङका अनुसार संस्था अब काठमाडौंमा मात्र सीमित नरही देश तथा विदेशमा रहेका वडा भित्रका स्वाँराबासीलाई पनि आजीवन सदस्यतामा आबद्ध गर्ने तयारीमा छ। संस्थाले गाउँ र शहरमा समस्या परेका समुदायका सदस्यलाई आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको उनले बताए।
संस्थाको इतिहासबारे जानकारी दिँदै अध्यक्ष गुरुङले संस्थापक अध्यक्ष बुद्धि गुरुङले वि.सं. २०६४–२०६६ सम्म नेतृत्व सम्हालेको, त्यसपछि हरी गुरुङ र राम थापा मगरले क्रमशः नेतृत्व गरेको बताए। २०७२ सालको विनाशकारी भूकम्पपछि संस्था केही समय निष्क्रिय बने पनि २०७५ सालमा पुनर्गठन गरी ज्ञानबहादुर गुरुङको अध्यक्षतामा संस्थालाई पुनः सक्रिय बनाइएको उनले जानकारी दिए।
संस्थाले हरेक वर्षजस्तै यस वर्ष पनि एसईई परीक्षा उत्तीर्ण आजीवन सदस्यका छोराछोरी तथा विद्यार्थीहरूलाई खादा र प्रमाणपत्रसहित सम्मान गर्ने कार्यक्रम राखेको छ। साथै, स्रष्टा सम्मान, आजीवन सदस्य प्रमाणपत्र वितरण र साधारण सभाका नियमित कार्यक्रमहरू समेत सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बलबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा रहनेछन् भने सुनिता भट्ट र प्रमिला गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
त्यस्तै, कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार सागर गुरुङ, सारना दवाडी र रामबहादुर सुनारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
समाजले कार्यक्रमलाई उत्साहपूर्ण र भव्य रूपमा सफल बनाउन सम्पूर्ण आजीवन सदस्य, सल्लाहकार, स्वाँराबासी, समाजसेवी, सहयोगी दाता तथा शुभचिन्तकहरूलाई उपस्थित भई सहयोग गर्न अपिल गरेको छ।