१४ जेष्ठ काठमाडौ । गणतन्त्र दिवसको पावन अवसर पारेर बारपाक सुलिकोट गाउँपालिका–४, हुँडीफाँटमा गाउँपालिका स्तरीय “सहिद प्रेम ढकाल स्मृति आधारभूत (१५ शैय्या) अस्पताल” को भव्य समुद्घाटन कार्यक्रम आयोजना हुने भएको छ। यही मिति २०८३ साल जेठ १५ गते सम्पन्न हुने उक्त समारोहसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम समेत गरिने जनाइएको छ।
बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य सेवा विस्तार तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त आधारभूत अस्पतालले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
समारोहको विशेष आकर्षणका रूपमा विशेषज्ञ डाक्टरहरूद्वारा पेट, छाती, मुटु, कलेजो, हर्निया, थाइराइड तथा सुगर रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क मुटुको भिडियो एक्स–रे सेवा सहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। गाउँपालिकाले सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई स्वास्थ्य परीक्षण तथा स्वास्थ्य लाभ लिन हार्दिक अनुरोध गरेको छ।
यसैगरी, कार्यक्रमलाई थप आकर्षक बनाउन वक्तृत्वकला प्रतियोगिता, विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको विशेष सम्मान, तथा चर्चित कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको जनाइएको छ।