१८ जेष्ठ काठमाडौँ । भरतपुर महानगरपालिकाले विद्यालय वरपर सुर्ती तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नियन्त्रण गर्न अनुगमन अभियानलाई तीव्र बनाएको छ। बालबालिकाको स्वास्थ्य संरक्षण तथा विद्यालयको शैक्षिक वातावरणलाई स्वच्छ र सुरक्षित बनाउन महानगरले विभिन्न विद्यालय आसपासका पसलहरूमा नियमित अनुगमन सुरु गरेको जनाएको छ।
हालै गरिएको अनुगमनका क्रममा विद्यालय नजिकै सञ्चालन भएका केही पसलहरूमा सुर्ती तथा सुर्तीजन्य पदार्थ बिक्रीका लागि राखिएको भेटिएको थियो। महानगर प्रहरीले सम्बन्धित पसल सञ्चालककै उपस्थितिमा ती सामग्रीहरू जफत गरी नष्ट गरेको छ।
महानगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जनाएको छ। विद्यालय आसपास यस्ता पदार्थको बिक्रीले बालबालिकामा नकारात्मक प्रभाव पार्ने भएकाले कानुनी व्यवस्था कार्यान्वयनमा विशेष जोड दिइएको महानगरको भनाइ छ।
अनुगमनका क्रममा पसल सञ्चालकहरूलाई विद्यालय क्षेत्रभित्र तथा वरपर सुर्तीजन्य पदार्थ बिक्री नगर्न चेतावनीसमेत दिइएको छ। नियम उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले स्पष्ट पारेको छ।
भरतपुर महानगरपालिकाले बालबालिकाको स्वास्थ्य, सुरक्षा र उज्ज्वल भविष्यलाई प्राथमिकतामा राख्दै यस्ता अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। महानगरले अभिभावक, शिक्षक, व्यवसायी तथा सरोकारवालाहरूलाई समेत बालबालिकामैत्री वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।