१९ जेष्ठ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले नगद १ लाखसहित एसइईमा ४ जिपिए ल्याउने विधार्थीलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४.०० जिपिए प्राप्त गरेका श्री शैलपुत्री माध्यमिक विद्यालय, बारपाक सुलिकोट गाउँपालिका–४ देउरालीका छात्र युनिक पनेरु लाई बारपाक सुलिकोट गाउँपालिकाले नगद रु.१ लाखसहित सम्मान गरेको हो ।
गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा पनेरुलाई नगद पुरस्कार, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले युनिक पनेरुले हासिल गरेको सफलता सम्पूर्ण गाउँपालिकाकै गौरवको विषय भएको बताए। उनले मेहनत, लगनशीलता र अनुशासनका कारण प्राप्त भएको यो उपलब्धिले अन्य विद्यार्थीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे। साथै गाउँपालिकाले आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन तथा सम्मान गर्ने नीति लिएको जानकारी दिए।
सम्मानित विद्यार्थी युनिक पनेरुले आफूले प्राप्त गरेको सफलतामा विद्यालय, शिक्षक, अभिभावक तथा साथीभाइहरूको महत्वपूर्ण योगदान रहेको बताए। उनले निरन्तर अध्ययन र मेहनतका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै भविष्यमा पनि शिक्षाको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनले समेत युनिकको उपलब्धिले विद्यालयको शैक्षिक प्रतिष्ठा बढाएको जनाएको छ। विद्यालयले आगामी वर्षहरूमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने वातावरण निर्माणमा थप ध्यान दिने जनाएको छ।एसइई परीक्षामा ४.०० जिपिए प्राप्त गरी गाउँपालिकाको नाम उच्च बनाएका युनिक पनेरुको सम्मानले स्थानीय तहमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने सकारात्मक सन्देश दिएको छ।