१९ जेष्ठ काठमाडौँ । गोरखामा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ । गोरखाका दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरबाट कुल १ हजार २१ जना सर्वसाधारण लाभान्वित भएका छन्। मुटु जोगाऔं, सम्भव नेपाल र रोटरी क्लब अफ गोरखा को संयुक्त आयोजनामा जिल्ला अस्पताल गोरखा तथा श्री संसारी माध्यमिक विद्यालय, सिरानचोकमा शिविर सञ्चालन गरिएको हो।
मुटु जोगाऔं संस्थाका महासचिव शेरबहादुर राना का अनुसार सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएका थिए। शिविरमा २०९ जनाको ईसीजी तथा १०४ जनाको इकोकार्डियोग्राफी परीक्षण गरिएको थियो। साथै सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
त्यसैगरी जिल्ला अस्पताल गोरखामा आयोजित शिविरमा गोरखा नगरपालिका तथा आसपासका स्थानीय तहका गरी ७६२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। उक्त शिविरमा ५४२ जनाको ईसीजी र २६९ जनाको इकोकार्डियोग्राफी परीक्षण गरिएको महासचिव रानाले जानकारी दिए। शिविरमार्फत करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर का वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा। डा। अनिल भट्टराई सहित विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
परीक्षणका क्रममा २५ जनामा जटिल प्रकारका मुटुरोग सम्बन्धी समस्या देखिएको डा। भट्टराईले जानकारी दिए। ती बिरामीलाई थप उपचार तथा विस्तृत परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा रिफर गरिएको उनले बताए।
आयोजक संस्थाहरूले यस्ता स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा पहुँचमा ल्याउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। साथै मुटुरोगको समयमै पहिचान र उपचारमार्फत जटिल स्वास्थ्य समस्याबाट बचाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।