Logo

बुधवार, श्रावण १३ गते २०८३

गोरखा सदरमुकामका धाराको पानी परीक्षण हुँदै, पिउन योग्य धारा पहिचान गरिने

गोरखा सदरमुकामका धाराको पानी परीक्षण हुँदै, पिउन योग्य धारा पहिचान गरिने

जोईन खबर

२२, जेठ २०८३
  • 418
    SHARES
  • गोरखा सदरमुकामका धाराको पानी परीक्षण हुँदै, पिउन योग्य धारा पहिचान गरिने


    २२ जेष्ठ काठमाडौँ । गोरखा सदरमुकाम क्षेत्रमा रहेका विभिन्न सार्वजनिक धाराहरूको पानीको नमूना संकलन गरी गुणस्तर परीक्षण प्रक्रिया सुरु गरिएको छ। स्थानीयस्तरमा खानेपानीको गुणस्तरबारे स्पष्ट जानकारी उपलब्ध गराउने तथा पिउनका लागि सबैभन्दा सुरक्षित धारा पहिचान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

    images

    सामाजिक अभियानमा सक्रिय संस्था क्लिन गोरखा ले सदरमुकामका विभिन्न धाराबाट पानीको नमूना बोत्तलमा संकलन गरेको जनाएको छ। संकलित नमूनाहरू प्रयोगशालामा परीक्षण गरी पानीको शुद्धता, जीवाणुको अवस्था तथा मानव स्वास्थ्यका लागि उपयुक्तता सम्बन्धी अध्ययन गरिनेछ।

    क्लिन गोरखाका अनुसार परीक्षणबाट प्राप्त नतिजाका आधारमा कुन धाराको पानी प्रत्यक्ष पिउन सुरक्षित छ र कुन धारामा थप शुद्धीकरण आवश्यक छ भन्ने पहिचान गरिनेछ। यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित खानेपानी छनोट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    गोरखा सदरमुकामका अधिकांश बासिन्दाले वर्षौंदेखि सार्वजनिक धाराको पानी उपभोग गर्दै आएका छन्। तर ती पानीका स्रोतहरूको गुणस्तरबारे नियमित परीक्षण नहुँदा पानी पिउन कत्तिको सुरक्षित छ भन्ने विषयमा स्पष्ट जानकारीको अभाव रहेको थियो।

    संस्थाले परीक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि नतिजा नागरिकमाझ जानकारी गराइने जनाएको छ। साथै पानीको गुणस्तर सुधार आवश्यक देखिएका स्थानमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुधारका पहलसमेत गरिने बताइएको छ।

    क्लिन गोरखाले यस अभियानलाई सुरक्षित खानेपानीप्रति नागरिक सचेतना अभिवृद्धि गर्ने तथा स्वच्छ र स्वस्थ समुदाय निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। परीक्षणको नतिजापछि गोरखा सदरमुकाममा रहेका धाराहरूमध्ये पिउनका लागि सबैभन्दा उपयुक्त पानीको स्रोत औपचारिक रूपमा पहिचान हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - १०:५५:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको